आजबाट बौद्ध क्षेत्रमा दर्शन गर्न जान पाइने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ७ मंगलवार १३:५८ बजे

आजबाट बौद्ध क्षेत्रमा दर्शन गर्न जान पाइने

काठमाण्डौ
मंसिर ७
बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि आजबाट खुला गर्ने भएको छ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको आज उद्घघाटन गरेपछि दर्शन खुला गरिने जानकारी दिनुभयो ।

भूकम्पबाट क्षति भएको बौद्धनाथ स्तुपाको पुनःनिर्माण सकिएकोले आज बौद्धनाथको देवातरण दिवस परेकाले यहीे साइतमा उद्घाटन गर्न लागीएको जनाईएको छ । २०७२ वैशाख १२ मा गएको  विनाशकारी भूकम्पले क्षति पु¥याएलगतै  महिनादिनपछि सो स्तुपाको जेठ १० गते पुनर्निर्माण थालिएको थियो ।
आज हुने उद्घाटन कार्यक्रममा चीनका धर्मगुरु इनसुनको पनि सहभागिता रहने समितिले जनाएको छ । कार्यक्रमका लागि भारत, चीन, श्रीलङ्का, म्यान्मा, ब्राजिल, जर्मनी, जापान, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रण गरिएको छ । गत वर्षको वैशाखमा आएको भूकम्पका कारण चैत्यमा क्षति भएपछि सर्वसाधारणको दर्शनका लागि चैत्यभित्र प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । करिब २३ करोड रूपैयाँको लागतमा जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको समितिले जनाएको छ ।
सो चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि आइतबार राति प्राणप्रतिष्ठा गरिएको छ । जीर्णोद्धारका क्रममा नजानेर अन्जानमा भएका त्रुटिबाट मुक्त हुनका लागि क्षमादान गर्दै प्राणप्रतिष्ठा गरिएको उक्त कार्यक्रममा महायानी सम्प्रदायअन्तर्गत निङ्मा, काग्यु, गेलुक र शाक्य सम्प्रदायका ठूला धर्मगुरुद्वारा विधि विधानपूर्वक विशेष पूजा गरिएको थियो । बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरुले शान्ति पाठसमेत गरेका थिए । प्राणप्रतिष्ठाको प्रक्रियापछि देवता चलायमान हुने विश्वास गरिन्छ ।

सो बौद्धनाथ स्तुप पाँचौं शताब्दीमा निर्माण भएको मानिन्छ । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध स्तुपाको बौद्धमार्गी समुदायको सहयोग र अग्रसरतामा पुनःनिर्माण भएको हो । बौद्धनाथ स्तुपा पुनःनिर्माणमा कूल २३ करोड रुपैयँ लागेको समितिले जनाएको छ । हाल बौद्ध स्तुपा पुनःनिर्माण सम्पन्न भएपछि यो नै भूकम्पपछि पुनःनिर्माण भएको पहिलो महत्वपूर्ण सम्पदा बनेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार