काठमाण्डौ
मंसिर ६
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव सोमलाल सुदेवीसहित विभिन्न मन्त्रालयका सचिवलाई बोलाई उहाँले सरकारको प्राथमिकता र जनजीविकाका सवालमा परिणाममूलक काम गर्न निर्देशन दिनुभएको हो । यसअघि प्रधानमन्त्री दाहालले गत साउन २३ गते सरकारको बजेट, नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तत्कालीन सुधारका कार्ययोजना ल्याउन निर्देशन दिनुभएको थियो । सरकारले संविधानको कार्यान्वयन, पुनःनिर्माण, निर्वाचनसम्बन्धी कानुन निर्माणलगायतमा प्राथमिकता दिँदै आएको छ । प्रधानमन्त्री दाहालका प्रशासकीय सल्लाहकार नारायण दाहालले परिणाममूलक कामका लागि तत्काल कदम चाल्न कडा निर्देशन दिनुभएको बताउनुभयो ।
आफ्ना निर्देशन पालनाबारे प्रधानमन्त्री कार्यालयबाट अनुगमनसमेत गरिने प्रधानमन्त्रीले जनाउनुभएको थियो ।
