काठमाण्डौ
मंसिर ४
नवलपरासीका उखु किसानले सरकारले तत्काल उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् ।
उखु क्रसिङ सुरु भइसक्दासमेत सरकारबाट मूल्य निर्धारण नभएको भन्दै किसानहरुले उखुको मूल्य प्रतिक्विन्टल ५६१ रुपैया निर्धारण गर्न माग गरेका हुन् । अघिल्लो वर्ष चिनीको मूल्य प्रतिकिलो ४८ रुपैँया बजार भाउ हुँदा उखुको मूल्य प्रतिक्विन्टल ४४८ रुपैँया रहेको थियो । तर यसपटक चिनीको मूल्य प्रतिकिलो ७२ रुपैँया बजार भाउ हुँदा उखुको मूल्य प्रतिक्विन्टल रु ५६१ निर्धारण हुनुपर्ने उखु उत्पादक कृषक समितिले जनाएको छ । उखु किसानले चिनी उद्योगलाई उखु दिएपनि समयमा भुक्तानी नपाउने भएपछि किसानले प्रत्येक वर्ष उखु खेती लगाउन छाड्दै गएका छन् । नवलपरासीको कुल सात हजार पाँच सय हेक्टर क्षेत्रफलबाट वार्षिक २० देखि २५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको छ ।
