काठमाण्डौ
मंसिर १
नेताको उपचारमा राष्ट्रिय ढुकुटी रित्तिएको भन्दै यति स्वास्थ्य विज्ञान प्रतिष्ठान महाराजगञ्जका विद्यार्थीले एक रुपैयाँ संकलन अभियान सुरु गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णयबाट नेताका निम्ति उपचार खर्च बाँडेर देशको ढुकुटीको दुरुपयोग भएको भन्दै विद्यार्थीहरुले व्यंग्यात्मक अभियान सञ्चालन गरेका हुन् । ‘गरिब नेताको उपचारको निम्ती धनी जनताको तर्फबाट ‘राष्ट्रिय नेता उपचार कोष’ खडा गर्नको निम्ती सहयोग अभियान लेखिएको ब्यानरसहित विद्यार्थीले अभियान चलाएका हुन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीको अभियानप्रति एक्यबद्धता जनाउँदै पूर्वसामान्य प्रशासन मन्त्री एवम् एमाले नेता लालबाबु पण्डितले एक रुपैयाँ दिएर अभियानमा साथ दिनुभएको छ । विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विद्यार्थीहरु महाराजगञ्जबाट एक रुपैयाँ संकलन गर्दै प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेका थिए । विद्यार्थीले संकलन गरेको पैसा भोलि काठमाण्डौका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री पुष्पकम दाहाललाई बुझाउने तयारी गरेका छन् ।
