काठमाण्डौ
मंसिर १
१२ औ राष्ट्रिय कफि दिवस पनि आजै बिभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मंसिर १ गते कफी दिवसका रुपमा मनाइने गरिएको छ । दिवसको अवसरमा कफि खेति प्रवद्र्धन गर्न कृषि मन्त्रालय र कफि किसानको विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपालको कफि युरोप तथा अमेरिकामा समेत निर्यात हुने गरेको छ ।
पहिलोपटक गुल्मीबाट सुरु भएको कफीखेती २०३२ सालतिर सरकारी स्तरबाट भारतबाट बिउ झिकाई किसानलाई वितरण गरिए पछि व्यवसायीक रुपमा सुरु भएको हो । मुलुकका करिव ४० जिलाका २५ हजार बढी किसान यसमा संलग्न छन् । नेपाल अर्गानिक कफीको लागि संसारकै उत्कृस्ट मुलुकको रुपमा परिचित छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार यस वर्ष कफी उत्पादन अघिल्लो वर्षको दाँजोमा थोरै गिरावट आएको छ । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार अघिल्लो वर्ष नेपालभर हरियो कफी बिनको कुल उत्पादन ४ सय ६३ टन हाराहारी भएको थियो । यी दुई वर्षको उत्पादनलाई विश्लेषण गर्दा कफी उत्पादनमा ६ प्रतिशत गिरावट आएको छ ।
