काठमाण्डौ
कात्तिक २९
रौतहटको देवाहीमा हतियारधारी समूह र प्रहरीबीचको भिडन्तमा एक जनाको मृत्यु भएको छ । आज विहान हतियारधारी समूह गाउमा पसेको खवर पाएपछि अञ्चल प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली र हतियारधारी समुहविच झडप हुदा एक हतियारधारीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अन्दाजी ३० वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । उनलाई टाउकोमा गोली लागेको छ ।
देवाही गाविस वडा नं. ८ मा प्रहरी देखेपछि चार जनाको समूहमा रहेका हरियारधारीले गोली चलाएका थिए । त्यसपछी प्रहरीले जवाफी फाईरिङमा गरेका थिए । घटनामा प्रहरी तर्फ प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खुट्टामा गोलि लागेको प्रहरी जवान चौधरीलाई थप उपचारको लागी हेटौंडा ल्याईएको छ । प्रहरीले घटनास्थलबाट तीन थान हतियार र गोलीहरु समेत बरामद गरेको रौतहटका डिएसपी नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो । समुहको साथमा रहेको एकथान इन्सास राइफल , एक थान इटालिएन पेस्तोल र एक थान नककटुवा बन्दुक र गोलीहरु बरामद गरेको जनाएको छ । भिडन्तका क्रममा हतियारधारी समूहले १२ राउण्ड र प्रहरीले २८ राउण्ड गोलि चलाएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
