काठमाण्डौ
कात्तिक २८
नेपाल–चीन व्यापारमा सम्वद्ध व्यवसायीले तातोपानी नाकाको विकल्प खोज्न नहुनेमा जोड दिएका छन् । नाका बन्द भएको डेढ वर्ष बित्दा पनि सञ्चालनमा ल्याउने पहल नभएपछि व्यवसायीले विकल्प नखोज्न नेपाल र चीन सरकारलाई आग्रह गरेका हुन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले तातोपानी जस्तो नजिक, सहज र ऐतिहासिक नाकाको विकल्प अन्य नाका हुन नसक्ने बताउनुभयो । व्यवसायीले जिल्लाबाट निर्वाचित सांसद र उद्योग वाणिज्य महासंघले नाका सञ्चालनका लागि कुटनीतिक दबाब दिनुपर्ने सुझाव दिएका छन् । चीनलाई नाकामा कुनै सुरक्षा खतरा नहुने नेपाल सरकारले स्पष्ट पार्न सक्नुपर्ने संघका उपाध्यक्ष बेदबहादुर श्रेष्ठले बताउनुभयो । नाका बन्द भएपछि केरुङ र भारतको बाटो हुँदै व्यापार गर्दा व्यवसायीले झण्झट व्यहोर्नु परेको भन्दै उनीहरुले तातोपानी नाका छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । २०७२ साल बैशाख १२ गतेको भूकम्पपछि असुरक्षित रहेको भन्दै सीमा क्षेत्रका बासिन्दालाई अन्यत्र स्थानान्तरण गरेर चीन सरकारले नाका बन्द गरेको थियो । भूकम्पपछि खासा क्षेत्रमा कन्टेनर र गोदाममा रहेका नेपाली व्यवसायीका सामान छाड्न दुई पटक अस्थायी रुपमा नाका सञ्चालनमा ल्याएपनि त्यसपछि तातोपानी नाका ठप्प छ ।
