काठमाण्डौ
कात्तिक ३
दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको ना ३ ख ९४३६ नंको यात्रुवाहक बस आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डको मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले चालकको लापरबाहीले दुर्घटना भएको बताउनु भयो । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक धामीका अनुसार चालकले मोबाइलमा कुराकानी गरिरहदा बस दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । यता, भक्तपुरको नगरकोटमा आज विहान मिनी ट्रकको ठक्करबाट २ जना गम्भीर घाईते भएका छन् । आज विहान पौन ८ बजे नगरकोटमा बा ३ ख ३० ०० नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ७५ प ५५ ६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक थली बस्ने २३ बर्षिय नबिन बि.क. र पछाडी सवार ४० बर्षिय भिमसेन बि.क गम्भीर घाइते भएको भक्तपुर प्रहरी वृत थिमीले जनाएको छ । घाइते दुवैको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।
