काठमाण्डौ
असोज १५
आज २६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदैछ ।
‘ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध उभिऔँ’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको हो । सन् १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने संयुक्त राष्ट्र संघको प्रस्ताव पारित भएसंगै यो दिवस मनाउन थालिएको हो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ । अक्टुबर १ मा यो दिवस मनाउँदै आएको भए पनि आज शनिबार परेको हुँदा दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रमहरु भने भोलिका लागि सारिएको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ । दिवसलाई भव्य रुपमा सफल बनाउन मन्त्रालयले ‘२६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मूल समारोह समिति’ गठन गरिसकेको छ । दिवसका अवसरमा भोलि मन्त्रालयले पदयात्रा, ज्येष्ठ नागरिकलाई सम्मान, फलफूल वितरण, सरसफाइ र अन्तक्र्रियालगायतका कार्यक्रमसमेत आयोजना गरेको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा आश्रमहरुले भने आजै विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
