काठमाण्डौ
असोज ७
दशैंमा काठमाडौँ उपत्यकाबाहिर जाने बसको टिकट बुकिङ आजदेखि खुला त भयो । तर पूर्वी नेपाल जानेले अझै केहिदिन टिकट नपाउने भएका छन् ।
पश्चिमतिरको टिकट पनि घण्टौ लाइन लागेर बल्ल बल्ल पाएको सर्वसाधारणको गुनासो छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा आज बिहानैदेखि टिकट बुकिङ खुला गरिएको हो । काठमाडौँ उपत्यकाबाहिर लामो दूरीमा जाने यात्रुहरुका लागि आजबाट टिकट बुकिङ खुलाइएपनि काठमाडौँबाट छोटो दुरीमा पर्ने जिल्लाका लागि भने आगामी साता टिकट बुकिङ खुला गरिने नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । यसैबीच सरकारले दसैंलाई लक्षित गर्दै आजदेखि अग्रिम टिकट काट्ने सुविधा व्यवस्था गरेपनि पूर्वी नेपाल क्षेत्रका लागि उक्त सुविधा कार्यान्वयनमा नआउँदा यात्रुहरु मारमा परेका छन् ।
