काठमाण्डौ
भदौ ३१
विहीबार अपरान्ह हतियारसहित नेपाल प्रवेश गरेपछि पक्राउ परेका ३ जना भारतीय सुरक्षाकर्मीहरुलाइ आज दुइ देशबिचको सुरक्षा अधिकारीहरुको समन्वयमा रिहा गरिएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भूडा गाउँमा हतियारसहित प्रवेश गरेका तीनजना भारतीय प्रहरीलाई इलाका प्रहरी कार्यालय बेल्डाँडीको टोलीले पक्राउ गरेको थियो । चोर समात्न भन्दै उनीहरुले हतियारसहित नेपाल प्रवेश गरेर स्थानीयको घरमा खानतलासी गरेका थिए । पक्राउ परेका भारतको पिलिभित जिल्ला कम्पोजनगर प्रहरी चौकीका सई सुवास चन्द, जवानहरु अर्जुन सिंह र प्रदीपकुमारलाइ भारतीय सुरक्षा अधिकारीहरुले विभागीय कारबाही गर्ने बताएपछि छोडिएको कञ्चनपुर प्रहरीले जनाएको छ । भारतमा मोटरसाइकल चोरीका घटनाका आरोपी श्रवणकुमार सिंह नाम गरेका ब्यक्तिलाई लिएर तीनैजना प्रहरी कञ्चनपुरको भुडागाउँ पसेका इलाका प्रहरी बेल्डाँडीका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । तीनजना भारतीय सुरक्षाकर्मी र एकजना भारतीय नागरिकलाई विहीबार राति नै द्विदेशीय मामला भएको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको थियो । श्रवणकुमार सिंहले मोटरसाइकल चोरको घर देखाइदिने भन्दै तीनजना भारतीय प्रहरीलाई नेपाल ल्याएको खुलेको प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
