काठमाण्डौ
भदौ २८
राजधानीको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको सेवामा सुधार ल्याउन स्वास्थ्य मन्त्री गगन थापाले १० बुँदे निर्देशन दिनु भएको छ ।
आज अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री थापाले आईसीयू सेवा थप विस्तारका लागि काम अघि बढाउन निर्देशन दिनु भएको हो । उहाँले अस्पतालमा आएका बिरामी किन, कसरी र को फर्कियो भन्ने विषयमा रेकर्ड राखेर तीन महिनाभित्र मन्त्रालयमा पेश गर्न समेत निर्देशन दिनुभयो । कान्ति बाल अस्पताल उपचारका लागि आउने विरामी उपचार नपाएर फर्किने गरेको गुनासो बढिरहेका बेला मन्त्री थापाले अस्पताललाई यस्तो निर्देशन दिनु भएको हो । मन्त्री थापाले अस्पतालको सरसफाइ व्यवस्थापन गर्न समेत निर्देशन दिनुभएको छ । मन्त्री थापाले बिरामीका लागि सूचना दिन सूचना डेक्स तत्काल स्थापना गर्न समेत निर्देशन दिनुभयो । मन्त्री थापाले अनुगमनपछि अस्पतालका समस्या र त्यसको समाधानबारे अस्पतालका निर्देशक, विशेषज्ञ चिकित्सक तथा कर्मचारीसँग छलफल गर्नुभएको थियो । छलफलका क्रममा अस्पतालका चिकित्सकहरुले अस्पतालभित्र रहेका समस्याबारे मन्त्री थापासँग गुनासो पोखेका थिए । अनुगमनका क्रममा मन्त्री थापाले अस्पतालमा भर्ना भएका बिरामीहरुसँग समेत कुराकानी गर्नुभएको थियो ।
तस्विर ः अन्नपूर्ण पोष्ट डट कम
