काठमाण्डौ
भदौ २८
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको एउटा विमान अवतरणका क्रममा टायर पड्किएको छ । नया दिल्लीबाट आएको आर ए २०६ विमान अवतरणपछि पार्किङ्ग वे मा जाने क्रममा पछाडीको बाँया पट्टीको टायर पड्किएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ । विमानमा परराष्ट्रमन्त्री प्रकाशशरण महतसहित १ सय ८० बढी यात्रु सवार थिए । सबै यात्रु सकुशल छन् । मन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकका अनुसार महत र यात्रुलाई विमान रोकिएपछि गाडिको सहयोगमा विमान–स्थलसम्म ल्याइएको थियो ।
चक्काको टायर पड्किएर सो विमान धावनमार्गमै अड्किएपछि झण्डै दिउसो पौने १ बजेदेखि झण्डै १ घण्टा अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिएको थियो । सो विमानलाई तानेर पार्किङ्ग वे मा लगी धावनमार्ग खाली गराइएको हो । त्यसपछि बाहिर निस्किने क्रममा परराष्ट्रमन्त्री महत केहि तनावमा देखिनुभएको थियो ।
