काठमाण्डौ
भदौ २२
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता तथा संविधानको कार्यान्वयनमा कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । निजामती सेवा दिवसको उपलक्ष्यमा आज राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिवर्तित सन्दर्भमा निजामती सेवाको भूमिका अत्यन्तै चुनौतीपूर्ण रहेको बताउनुभयो ।
उहाँले निजामती कर्मचारीले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकतामाथि जोड दिदै नेपालको निजामती सेवा साँच्चिकै इतिहासको संगीन मोडमा उभिएको बताउनुभयो । निजामती सेवाले इतिहासको विभिन्न कालखण्डमा दिएको योगदानको सराहना गर्दै उहाँले नेपालको लामो संक्रमणकालीन अवस्थामा पनि राज्य संचालनमा स्थिरता दिन सक्नु प्रशंसायोग्य भएको बताउनुभयो । उहाँले हालसम्म केन्द्रीकृत र एकात्मक रुपमा रहेको निजामती सेवालाई संविधानको भावनाअनुसार विकेन्द्रीकृत र संघात्मक स्वरुपमा ढाल्दै यसको प्रभावकारिता र सक्षमता कसरी बढाउने भन्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो ।
