काठमाण्डौ
भदौ १९
तीजको ब्रत लिएका महिलाहरु भरिभराउ हुँदा यसपटक पनि पशुपति क्षेत्रका बाँदर त्रसित देखिएका छन् ।

किनकी, आज हरितालिका तीज । हिन्दु महिलाहरुले निराहर ब्रत बसी विशेष पुजा आरधना गरी मनाउँदैछन् । संगीनीद्धारा हरण गरिएकी पार्वतीले गोप्य स्थानमा शिवजी स्वामी पाउनका लागि गरेको उपवासलाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिने तयारी गरेको पार्वतीका सखीहरू थाहा पाएपछि पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ । हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन् । भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठामीठा परिकार खाने चलन छ ।
हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएकाले तीजको व्रतको महत्व बढेको हो ।
