काठमाण्डौ
भदौ १८
बागमती सफाइ महाअभियानको १ सय ७३ औँ हप्ता अन्तर्गत आज टेकु क्षेत्रमा सफाई गरिएको छ । टेकु पुलमुनिको बाग्मति क्षेत्रमा सफाई गरी ११ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको बागमती सफाई अभियानका परिचालक राम तपस्या कुमार शाहले जानकारी दिनु भयो ।
आज निजामती कर्मचारी दिवस परेकाले सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा ५ सय भन्दा बढि कर्मचारी सहित १२ सय जनाको सहभागिता थियो । सफाईमा पूर्वमुख्यसचिव लीलामणि पौडेल, सङ्घीय मामिला तथा स्थानीय विकास सचिव केदारबहादुर अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, खानेपानी तथा सरसफाइ सचिव डा सञ्जय शर्मा, पूर्व सचिव सुरेशप्रकाश आचार्य, जयमुकुन्द खनाल, माधव रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शमार्, चीनका लागि पूर्व नेपाली राजदूत महेश मास्के लगायतको सहभागिता रहेको परिचालक शाहले जानकारी दिनुभयो ।
सफाइमा बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थिको पनि सहभागिता थियो । यसैगरी रुद्रमती सफाइको १ सय ३२ औँ हप्तामा ज्ञानेश्वरदेखि गौशालासम्म सफाइ गरी चार मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ भने विष्णुमती सफाइको १०८ औँ हप्तामा बालाजु पुल आसपास सफाइ गरी दुई मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको छ । बागमती समितिले कोटेश्वर महादेव मन्दिर आसपासको बागमती नदी किनारमा आज कपूर, बेल, निमलगायत जातका १ सय वृक्षारोपण गरेको छ । वृक्ष रोपणमा पूर्वमन्त्री अग्नि खरेल लगायत स्थानीयवासीको सहभागीता थियो ।
