काठमाण्डौ
भदौ १८
सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारी सरुवा र बढुवाका लागि आफूलाई जति नै दबाब आए पनि नियम विपरित कुनै कार्य नगर्ने बताउनुभएको छ ।
झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको बताउनुभयो । उहाँले स्थानीय निकायको निर्वाचन भएपछि मात्रै स्थानीय तहको विकास निर्माणका कामले पनि गति लिने बताउनुभयो । संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउदै उहाँले सरकारले जतिसक्दो चाँडो संविधान कार्यान्वयन गराउन प्रयत्न गर्ने बताउनुभयो । मन्त्री बुढाथोकी नेपाल आदिवासी जनजाति महासङ्घ झापाको विर्तामोडमा हुने अधिवेशनको उद्घाटनका लागि आज झापा पुग्नुभएको हो ।
