काठमाण्डौ
भदौ १८
भोजपुरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरो जाँदा ५८ वर्षका भरत राई र उनकी ५४ वर्षीया श्रीमति राममतीको मृत्यु भएको हो । प्रहरी र गाउँलेले उनीहरुको शव निकालेका हुन् । पहिरोले सदरमुकाम भोजपुरबाट १९ कोष टाढा रहेको कुलुङ–९ खमारेको सिंगो बस्ती नै जोखिमा परेको छ ।
१२ घरपरिवार पहिरोको जोखिममा रहेको र उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका निरीक्षक राधाप्रसाद पराजुलीले बताउनुभयो ।
उता, अविरल वर्षाका कारण ताप्लेजुङमा पहिरोले घर वगाउदा ३ जनाको मृत्यू भएको छ । जिल्लाको ताप्लेजुङ नगरपालीकामा २ मा टीका मगरको घर पहिरोले पुर्दा उनकी श्रीमती र दुर्ई छोराहरुको मृत्यु भएको हो । पहिरोले पुरेर टिकाकी २८ वर्षीया श्रीमती विमला मगर र छोराहरु १० वर्षका मनोज र ८ वर्षका ललितको मृत्यू भएको ताप्लेजुङ्गका प्रहरी नायव उपरिक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । घर मुली टीका भने गएराती घर वाहिर नै रहेकाले बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
यस्तै वडा नम्बर ८ को हिटी भन्ने स्थानमा पनि पहिरोले केही घर पुरेको छ । क्षतिको विवरण आउन बाँकी छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली अहिले परिचालन गरिएको छ । पहिरोका कारण ताप्लेजुङका विभिन्न ठाउँका पचास परिवार विस्थापित भएका छन् । वर्षायाम सकिन लागेपनि अविरल वर्षापछि झरेको पहिरोका कारण पछिल्लो समय मुलुकका विभिन्न स्थानमा ठूलो पहिरो जाने क्रम रोकिएको छैन । जसका कारण दिनहुँ ठुलो जनधनको क्षति भईरहेको खबर आईरहेको छ । उता म्याग्दीमा हिजो आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने बुधबार दोलखाको छेचोत भन्ने स्थानमा गएको पहिरोमा पुरीएका ५ जनाको अवस्था पनि अझै अज्ञात छ ।
