काठमाण्डौ
भदौ १७
पशुपति क्षेत्र विकास कोषले हरितालिका पर्वमा पशुपतिनाथ मन्दिरमा सःशुल्क दर्शनको व्यवस्था हटाएको छ । कोषले यसअघि छोटो समयमा दर्शन गर्न चाहनेको सहजताका लागि एक हजार रुपैयाको टिकटको व्यवस्था गर्दै आएकोमा यस पटकबाट त्यस्तो व्यवस्था हटाइएको हो ।
विशिष्ट व्यक्ति, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई लाइन लाग्नुनपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । कोषका सदस्यसचिव डा गोविन्द टण्डनले आज आयोजित पत्रकार सम्मेलनमा दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन नेपाल प्रहरीको संयोजकत्वमा ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गरिएको जानकारी दिनुभयो । अब दर्शन गर्न आउने सबैले लाइन लाग्नुपर्ने भएको छ । प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले करिब तीन हजार सुरक्षाकर्मीलाई मन्दिर तथा आसपास क्षेत्रमा खटाइने र दर्शनार्थीलाई मन्दिर दर्शनका लागि चाहिँदो सहयोग उपलब्ध गराउने बताउनुभयो । उहाँले दर्शनका लागि आउने महिलाहरुलाई गरगहना नलगाउन आग्रह गर्नुभयो । तीजको दिन पुशपति मन्दिर क्षेत्रमा कुनै पनि सामाजिक सङ्घसंस्थालाई स्वयम्सेवकका रुपमा गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । कोषले पशुपति मन्दिर तथा त्यस वरपर क्षेत्रका सर्वसाधारणलाई नियमित आवतजावतका लागि उपलब्ध गराउँदै आएको पासको व्यवस्थासमेत हटाएको छ ।
