काठमाण्डौ
भदौ १५
अमेरिकाको आगामी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफु मेक्सीको भ्रमण गर्न लागेको बताउनुभएको छ । ट्रम्पले ट्वीट गर्दै आजै मेक्सीको पुगेर त्यहाँका राष्ट्रपति इन्रिक पेना नेइटोसंग भेट गर्न लागेको बताउनुभएको हो ।
चुनावी प्रचारका वेला मेक्सिकोप्रति कडा अभिव्यक्ति दिएका ट्रम्प अचानक मेक्सीको भ्रमणमा जान लाग्नुभएको हो । मेक्सीकोका राष्ट्रपतिको निमन्त्रणा अनुसार आफु मेक्सीको भ्रमणमा जान लागेको ट्रम्पले बताउनुभएको छ । आजै साँझ हुन सक्ने भनिएको भेटवार्तामा अमेरिकामा रहेका मेक्सीकन नागरिकको सुरक्षाबारे छलफल हुने बताइएको छ ।
मेक्सीकोका राष्ट्रपति नेइटोले ट्रम्पसहित आगामी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पनि मेक्सीको भ्रमणको निम्ता दिनुभएको थियो । क्लिन्टनको मेक्सीको भ्रमणको भने अहिलेसम्म टुंगो लागेको छैन ।
