काठमाण्डौ
भदौ १५
नेपालसंग कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको अवसर पारेर जापान सरकारले दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई १ अर्ब ८३ करोड २० लाख रुपैया अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा आज अर्थमन्त्रालयमा अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ८ वटा विमानस्थलमा हवाई सुरक्षा सुधार परियोजना कार्यान्वयन गर्न जापानले १ अर्ब ५१ करोड ८० लाख रुपैया उपलब्ध गराउने छ । त्यसैगरी, विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानले ३१ करोड ३० लाख रुपैया अनुदान दिनेछ ।
विमानस्थलको हवाई सुरक्षा सुधार परियोजनाका लागि अनुदान सम्वन्धि सम्झौतामा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रलायका सचिव लोकदर्शन रेग्मी तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सम्बन्धी सम्झौतापत्रमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले हस्ताक्षर गर्नुभयो ।
यसैबिच, जापानका विदेश राज्यमन्त्री नोबु किसिले काठमाडौं नौविसे सुरुङ मार्ग निर्माणमा १८ अर्ब रुपैया बराबरको सहयोग दिलाउने प्रक्रिया अघि बढाउने बताउनुभएको छ । प्रधानमन्त्री पुष्कमल दाहालसंग आज बिहान भएको भेटवार्तामा उहाँले त्यस्तो प्रतिवद्धता ब्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले काठमाडौं नौविसे सुरुङ मार्ग निर्माणमा ठूलो रकम आवश्यक पर्ने भन्दै त्यसमा जापान सरकारबाट आर्थिक सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभएको थियो ।
भेटमा जापानी विदेशमन्त्री नोबुले जापानमा बस्ने नेपालीहरुको सेवा सुविधाका लागि जापान सरकारले अझै नयाँ कार्यक्रमको योजना बनाईरहेको समेत बताउनुभयो । प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुर्ननिर्माण र संविधान कार्यान्वयनमा भईरहेको प्रयासबारे राज्यमन्त्री नोबुलाई जानकारी गराउनुभएको थियो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा भोली हुने विशेष समारोहमा सहभागी हुन राज्यमन्त्री नोबु हिजो काठमाण्डौ आउनुभएको हो । उहाँ भोली नै स्वदेश फर्कने कार्यक्रम छ ।
