काठमाण्डौ
भदौ १४
व्यवस्थापिका संसदको विकास समितीले दशैंअघि नै भूकम्पपिडितहरुलाइ पहिलो किस्ताको रकम उपलव्ध गराउन सरकारलाइ निर्देशन दिएको छ । समितीको आज बसेको बैठकले पहिलो किस्ताको अनुदान रकम समेत नपाउने भूकम्पपिडितहरु अझै धेरै रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
नवगठित सरकारले भूकम्पपिडितहरुलाइ ४५ दिन भित्र पहिलो किस्ताको रकम उपलव्ध गराइसक्ने प्रतिवद्धता गरेपनि सो अनुसारको काम नभएकोप्रति समितीले चासो देखाएको हो । पूननिर्माणका लागि प्रभावित क्षेत्रमा खटिने प्राविधिक कर्मचारीहरुलाइ भौगोलिक अवस्था र कार्यसम्पादनको मूल्यांकन गरेर भत्ता उपलव्ध गराउन समेत समितीले पूननिर्माण प्राधिकरण र सरकारलाइ निर्देशन दिएको छ । समितीले पूननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुशील ज्ञवाली, सहरी बिकास मन्त्रालयका सचिव तथा स्थानीय विकास मन्त्रालयका सचिवलाइ बैठकमा बोलाएर सरकारको प्रतिवद्धताअनुसार अनुदान वितरणमा भएगरेको प्रगतिबारे जानकारी लिएको हो । साथै समितीले पूननिर्माण प्राधिकरणले मागेजत्ति कर्मचारी उपलव्ध गराएर आउदो हिउद अगावै सबै भूकम्पपिडितलाइ सुरक्षित आवासमा ल्याउनेगरी काम गर्न सरकारलाइ भनेको छ । काठमाडौँ उपत्यकामा समेत भूकम्प प्रभावित सर्वेक्षणको लगत संकलन अझै हुन नसकेको भन्दै समितिले दशैं अगाडी नै उपत्यकाभित्रका भूकम्प प्रभावितहरुको लगत संकलन गर्न सरकारलाइ निर्देशन दिएको छ ।