काठमाण्डौ
भदौ १२
प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दुतको रुपमा भारत भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाहालले लेख्नुभएको पत्रबारे संसदलाई जानकारी गराउनुभएको छ ।

संसदको आजको बैठकमा मुख्य विपक्षी दल नेकपा एमालेले सो पत्रबारे जानकारी गराउन सरकारसंग माग गरेको थियो । उपप्रधानमन्त्री निधीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत नियुक्त गरेको पत्रमात्रै भारतीय प्रधानमन्त्री मोदीलाई दिएको दावी गर्नुभयो । विगत २ दशक भन्दा बढीदेखि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण नभएकाले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न निमन्त्रण पत्र पनि दिएको निधिले बताउनुभयो । उपप्रधानमन्त्री निधिले संविधान संशोधनबारे भारतसँग केही पनि कुरा नभएको दाबी गर्नुभयो । संविधान संशोधनबारे भारतसँग कुराकानी गरेको भनेर फैलाइएको हल्ला निराधार भएको उहाँले बताउनुभयो । निधिले भन्नुभयो, ‘संविधान संशोधनको प्रस्ताव भारतसँग गरेको होइन। म विशेष दूतको रुपमा भारत गएको हो। विशेष दूतकै रुपमा प्रधानमन्त्री प्रचण्डले पठाएको उच्चस्तरीय भ्रमणको निम्तोको पत्र हस्तान्तरण गरेको हो। बाहिर आएजस्तो कुरा होइन।’
दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि आफ्नो भारत भ्रमण केन्द्रीत भएको निधिले जानकारी दिनुभयो । उहाँले विशेष दूतका रुपमा आफूले गरेको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार ल्याएको दाबी समेत गर्नुभयो ।
त्यसअघि संसदमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले पत्रबारे जानकारी गराउन माग गर्नुभएको थियो । उहाले मुलुक द्वन्द्वको अवस्था वा कुनै अप्ठेरो अवस्थामा नरहेकाले विशेष दुत पठाउनु आवश्यक नरहेको जिकिर समेत गर्नुभयो । उहाले छिमेकी मुलुकसँग एमाले नेतृत्वको अघिल्लो सरकारले राम्रो कुटनैतिक सम्बन्ध कायम गरेको दावी गर्नुभयो ।
