काठमाण्डौ
भदौ ११
बिद्रोही संगठन बोको हरामको हिंसात्मक गतिविधिका कारण अफ्रिकी मुलुकमा १४ लाख बालबालिका विस्थापित भएको एक प्रतिवेदनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले हालै सार्वजनिक गरेको प्रतिवेदनले बोको हरामका कारण नाइजेरिया, क्यामरुन, चाड र रिपब्लीक अफ नाइजरमा मानवीय अवस्था संकटमा रहेको देखाएको हो । यो वर्ष बोको हरामको नियन्त्रणमा रहेका क्षेत्रका चार लाख ७५ हजार बालिकाबालिका गम्भीर कुपोषणको खतरामा रहेको युनिसेफले जनाएको छ । प्रतिवेदनअनुसार कम्तिमा १० लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा फसेको र उनीहरुसम्म पुग्न समस्या भइरहेको छ । बोको हरामले यो वर्ष ३८ जना बालबालिकालाई आत्मघाती आक्रमणका लागि प्रयोग गरिसकेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार सन् २०१४ देखि अहिलेसम्म ८६ जना बालबालिका आत्मघाती आक्रमणमा प्रयोग भएका छन् ।
