काठमाण्डौ
भदौ ९
निरन्तर ओरालो लागेको सेयर बजार आज भने चम्किएको छ । झन्डै पचास अंकको वृद्धिसहित आज बजार हरियो भएको छ। दुई सय अंकभन्दा बढी गिरावट आइसकेको सेयर बजारमा अब हरियाली उत्साह फर्केको लगानीकर्ताले विश्वास गरेका छन्।
आज नेप्से परिसूचक ४८.७६ अंकले बढेर १७३०.६२ विन्दुमा पुगेको छ। कारोबार पनि अघिल्ला दिनको तुलनामा बढी भएको छ । आज सबै परिसूचक हरिया भएका छन्। बजारलाई माथि उठाउन बैंक र बिमाको विशेष योगदान छ। बिमाको परिसूचक साढे पाँच सय अंकले वृद्धि भएको छ भने बैंक पनि करिब ४० अंकले उकालो लागेको छ।
आजकोे बजारमा बिमा कम्पनीहरुमा विशेष आकर्षण देखिएको छ । अधिकांश बिमा कम्पनीको मूल्य ९ देखि १० प्रतिशतको हाराहारीमा बढेको छ भने कारोबारमा उछाल देखिएको छ। पुँजी वृद्धिको नीति छिटै आउने र त्यसका लागि आकर्षक हकप्रद र बोनस पाइने आसमा लगानीकर्ताहरु फेरि एकपटक बिमातिर झुम्मिएका छन् ।
कम्पनीहरुले आकर्षक नाफा कमाएको रिपोर्ट निकालेर बोनस घोषणाको तयारी गरिरहेका बेला बजारमा देखिएको गिरावटलाई बजार जानकारहरुले अस्वभाविक भनेका थिए। १८८१ विन्दु छोएपछि बजारमा करेक्सन सुरु भएको थियो। यसैलाई अन्तिम बुल प्वाइन्ट भन्दै एकथरीले बजार ओरालो लाग्ने हल्ला फैलाएका थिए। त्यसको सिकार साना तथा मध्यमलगानीकर्ता भएका थिए। पुँजी बजारका विज्ञहरुले अबको बुल २५ सय अंकभन्दा तल नहुने अनुमान गरेका छन्।
