साउन ३२
क्युबास्थित ग्वान्टानामो बन्दीगृहका १५ जना कैदीलाई युनाइटेड अरब एमिरेट्स युएईमा पठाइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा बन्दीलाई स्थानान्तरण गरिएको यो सबैभन्दा ठूलो संख्या हो ।
यो स्थानान्तरण सँगै ग्वान्टानामोमा रहेको अमेरिकाको जलसेनाको अखडामा अब बन्दीको संख्या ६१ मा झरेको छ ।
अमेरिकाका सञ्चारमाध्यमहरुले त्यसरी पठाइएका कैदीमध्ये १२ जना यमनका र तीनजना अफगानिस्तानका नागरिक भएको बताएका छन् । गत एप्रिलमा ९ जना यमनी कैदीहरुलाई साउदी अरेबिया पठाइएको थियो । ओबामाले आउँदो नोभेम्बरमा आफ्नो कार्यकाल सकिनु अघि नै उक्त बन्दीगृह बन्द गर्न चाहेका थिए । तर त्यस योजनामा रिपब्लिकनको बाहुल्यता रहेको कंग्रेसले देखाएको विरोधबारे उनले पटकपटक तिक्तता व्यक्त गरेका छन् । ह्वाइट हाउसले बाँकी रहेका बन्दीलाई अमेरिका पठाउन चाहेको छ तर कंग्रेसले त्यसमा विरोध जनाएको छ ।