सीता बचाउ अभियानमा ४० लाख रकम


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २० बिहीवार ०९:११ बजे

सीता बचाउ अभियानमा ४० लाख रकम

म्याग्दी, २० माघ ।

म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्त क्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारार्थ करिब ४० लाख रुपैया सहयोग जुटेको छ । बोनम्यारो र रक्तक्यान्सरको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीबाट उक्त आर्थिक सहयोग संकलन भएको हो ।

सीता बचाउ अभियानका सदस्य हरि भण्डारीले क्षेत्रीको उपचारमा न्यूनतम रु ७० लाख खर्च हुने भएपनि हालसम्म रु ४० लाख मात्र आर्थिक सङ्कलन भएको जानकारी दिनुभयो । उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि सुरु गरिएको सीता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानमा स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीको पहलमा सहयोग सङ्कलन गर्ने काम भइरहेको छ ।

“क्षेत्रीको जीवनरक्षाका लागि सञ्चालन गरिएको अभियानमा सहयोग गर्नेहरुप्रति आभारी छाँै, सहयोगदाताबाट प्राप्त सहयोगले पीडित क्षेत्रीको उपचारमा ठूलो राहत मिलेको छ, उहाँहरुप्रति हामी आभारी छौँ’’– अभियानका संयोजक नन्दबहादुर खत्रीले भन्नुभयो ।

गत पुस ६ गतेदेखि सुरु गरिएको सीता बचाउ अभियानअन्तर्गत सङ्कलित रकममार्फत पीडित क्षेत्रीको उपचार भइरहेको छ । क्षेत्रीको बोनम्यारो प्रत्यारोपणका लागि अहिले भारतको नयाँ दिल्लीमा रहेको इन्दिरागान्धी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबारदेखि क्षेत्रीको उपचार प्रक्रियाअन्तर्गत बोनम्यारो प्रत्यारोपणको परीक्षण सुरु हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

क्षेत्रीको सहयोगार्थ गठित सीता बचाउ अभियान समितिले क्षेत्रीको सहयोगार्थ बेनीस्थित ग्लोबल आइएमई बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा जम्मा गर्न सकिने व्यवस्था गरेको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट