राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैतमा हुने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १५ आइतवार १०:२७ बजे

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैतमा  हुने

म्याग्दी, १५ फागुन ।

म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाको नेतृत्वमा काठमाडौँमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० देखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रियस्तरका व्यावसायिक र विभागीय टोलीका खेलाडीसमेत सहभागी हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले बेनीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । क्लब स्थापनासँगै काठमाडौँमा निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितालाई यसपटक म्याग्दीमा आयोजना गरिएको क्लबका अध्यक्ष रमेश पुनले बताउनुभयो ।

प्रतियोगितामा राष्ट्रियस्तरका पाँच र स्थानीय एक गरी ६ इभेन्टमा खेल खेलाइनेछ । बेनीस्थित कबर्डहलमा हुने प्रतियोगितामा देशभरका करिब ३०० खेलाडीले सहभागिता जनाउने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत मेन्स डबल इभेन्टमा विजयी हुनेलाई सर्वाधिक पुरस्कार राशि रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । त्यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिने क्लबका उपाध्यक्ष योगेन्द्र गुरुङले बताउनुभयो ।

प्रतियोगिताअन्तर्गत मेन्स सिङ्गल इभेन्टमा प्रथमलाई रु ६० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु पाँच हजार तथा उमेन्स सिङ्गल, भेटरान्स डबल र १७ वर्षमुनिका पुरुषको सिङ्गल इभेन्टमा प्रथमलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । सहभागी हुने खेलाडीलाई खान र बस्नको व्यवस्था निःशुल्क गरिएको प्रतियोगितामा करिब रु १७ लाख खर्च हुने अनुमान गरिएको छ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट