आमकोटको मगरबस्ती पर्यटनको विकासमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १६ सोमवार १२:१६ बजे

आमकोटको मगरबस्ती पर्यटनको विकासमा

मनीषा अवस्थी
काठमाडौं । धादिङको सालाङ गाविस ४ आमकोटमा रहेको मगरबस्तीमा होमस्टे सञ्चालनमा आउने भएको छ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ नेपाल) ले आयोजना गरेको सालाङ÷नलाङ गाउँ अवलोकन तथा अध्ययन भ्रमणपछि सो गाउँमा बिगत ४ वर्षदेखिको योजनामा रहेको होमस्टे सञ्चालनमा आउने भएको हो । २०७३ सालको शिवरात्रिको अवसर पारेर ४५ जनाको समुहमा व्यवसायी र पत्रकार समूह लिएर सलाङ्गको सिद्धबाबा लेकको मेला भर्न टोली आमकोट पुगेको थियो । नलाङ र सलाङको सिमानामा रहेको पर्यटकीय स्थल सिद्धलेकलाई प्रबद्र्धन तथा मगरगाउँमा होमस्टे सञ्चालनका लागि अध्ययन गर्न भिटोफ नेतृत्वको समुह आमकोट पुगेपछि स्थानीय उत्साहित भएका छन् ।

राजधानीबाट पूर्वपर्यटन मन्त्री एवं माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगर, भिटोफका अध्यक्ष कमल सापकोटा, ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल टानका अध्यक्ष चन्द्र रिजाल, भिटोफकै बरिष्ठ सल्लाहकार एवंम् पर्यटन विज्ञ प्राध्यापक डाक्टर प्रेम शर्मा, सल्लाहकार लेखनाथ भण्डारी, भिटोफका मिडिया कोर्डिनेटर एवंम् द्वितिय उपाध्यक्ष दिपक दाहाल लगायत अन्य पर्यटन व्यवसायी र पत्रकारहरू सहभागी थिए । शुक्रबार शिवरात्रीको दिन सिद्धलेक र ढेवालेकको अवलोकनपछि साँझमा स्थानीय भाषामा नाचगान गरी रमाइलो गरिएको थियो ।

सोही दुईदिने कार्यक्रममा शनिबार बिहान सालाङकै कमलबारीमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्व पर्यटनमन्त्री एवंम् सो कार्यक्रमका प्रमुख अतिथि बिष्टमगरले सालाङ सुन्दर बस्ती र सिद्धलेकको टे«किङ पर्यटकीय रुपमा महत्वपूर्ण रहेको बताएका थिए । उनले स्थानीय स्तरमा विकासका लागि स्थानीय नै जागरुक हुनुपर्ने हुँदा प्रचारप्रसारका लागि पहल चाले आमकोट गाउँ पर्यटकीय रुपमा उत्कृष्ट बन्ने बताए । आफ्नै संस्कार भएका प्रकृतिका पूजारी मगरहरूले संस्कार जोगाउन सके मात्रै फरक पहिचान बन्न सक्ने बताउँदै त्यसमा विशेष ध्यान दिन आग्रह गरे । उनले सिद्धलेक तथा ढेवालेक ट्रेकिङ चढ्दा सामान्य गोरेटे बाटो खन्न स्थानीयलाई सुझाव समेत दिए ।
कार्यक्रममा बोल्दै भिटोफका अध्यक्ष सापकोटाले स्थानीय स्तरकै स्रोत साधन प्रयोग गरी गाउँ पर्यटनलाई अगाडी बढाउन स्थानीयलाई सुझाव दिएका थिए । उनले विविध कला र मिश्रित समुदायको संस्कृतिले भरिपूर्ण धादिङ जिल्ला राजधानीदेखि नजिकै भएकाले प्रारप्रसारका लागि त्यती धेरै असहज नरहेकाले आफ्नो क्षेत्रका पर्यटकीय सम्भावना प्रचारप्रसारका लागि जागरुक हुन आग्रह गरे ।

कार्यक्रममा भिटोफका बरिष्ठ सल्लाकार शर्माले स्थानीय कलाकौशल जोगाउन सके विश्वलाई आकर्षण गर्न सकिने बताए । उनले आमकोटको मगर गाउँले आफूलाई मोहित पारेको बताउँदै सो गाउँको प्रचारप्रसारका लागि आफूले जस्तोसुकै सहयोग गर्न तयार रहेको शर्माको भनाई छ ।  कार्यक्रममा भिटोफका मिडिया संयोजक दाहालले आमकोट गाउँ निकै सुन्दर, फरक संस्कृति तथा पहिचान र प्रकृतिले पनि साथ दिएकाले आफैमा पर्यटकीय गाउँ भएको बताए । उनले विश्व पर्यटन दिवश २७ सेप्टेम्बर सन् २०१७ मा आमकोट गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने प्रस्ताव समेत गरे ।

आमकोटका ६० घरधुरीमध्ये २५ घरधुरीमा ४ देखि ६ जनासम्म पाहुनालाई व्यवस्थापन गर्न सकिने पूर्वाधार तयार रहेको स्थानीय युवा मानबहादुर थापा मगरले जानकारी दिए । सरकारले ‘घुमफिर वर्ष २०७३’ घोषणा गरेपछि भिटोफ लगायत पर्यटन क्षेत्रका व्यवसायिक तथा राजनीतिक संघ÷संगठनले आन्तरिक पर्यटन तथा पर्यटकको टोलीसहित पर्यटकीय गन्त्व्यको प्रचारप्रसार गरिरहेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट