जनताकै घरदैलोमा छन् सांसद सिलवाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद नारायण सिलवाल यतिबेला ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम मार्फत आफ्नो क्षेत्रमा छन् । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्, सिलवाल । प्रदेशसभाको बैठक चाडबाडले गर्दा केहि समय स्थगित भएलगत्तै उनी आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग विकासको काम के कसरी अगाडि बढाउने भन्नेमा छलफलमा व्यस्त देखिन्छन् । चाडबाडको समयमा निर्वाचन क्षेत्रकै विकासमा तल्लिन सांसद सिलवालसँग क्षेत्रको विकासका लागि भईरहेको गतिविधिबारे गरिएको कुराकानी –

 

जनप्रतिनिधि पाइसकेपछि तपाईको क्षेत्रका जनताले विकासको अनुभूति के गरिरहेका छन्, तपाईहरु के गर्दैहुनुहुन्छ ?
महानगरले नै बजेट निर्माण गर्दा स्थानीय वडा समितिमा सिधै पैसा पठाएर त्यहिँ जनताहरुसँग छलफल गरेर काम गर्ने नीति बनाईदियो । यसले के सजिलो गराईदियो भने विकास योजनामा वडाले खर्च गर्न पाउने भएपछि सानातिना माग वडा समितिमा पुगेपछि पुरा भईहाल्ने स्थिति बन्यो । महानगरको ठूलो वडामा पर्छ ४ नम्वर वडा । २ र ५ नम्बर वडा मध्यम वडामा पर्छन् । गत बर्षपनि २ करोड ४ नम्बर वडा र डेढ करोड २ र ५ मा विकास योजनामा खर्च गर्नेगरी सात करोड त वडामै आयो । वडा समितिमा माग पुगेपछि बाटो,पानी,ढल लगायतका समस्या पुरा भईहाल्ने स्थिति रह्यो । जसले गर्दा निर्वाचनअघि कर्मचारीले गरेको कामभन्दा जनप्रतिनिधिले गरेको कामप्रति जनता खुसी पाएको छु ।
प्रतिनिधिसभाका माननीयज्यू र मेरो पहलमा सातवटा जति सम्पदामा महानगरको केन्द्रिय बजेट पनि पारेका छौँ । मेयरसावको पनि त्यसमा निकै चासो थियो । सम्पदा निर्माण,पूनर्निमाण,पार्टी निर्माण लगायतका काम पञ्चेधाराको धारो र मन्दिरसहित पूननिर्माण,धनगणेश मन्दिरको पूननिर्माण,उमाकात्तिकी मन्दिरको पूननिर्माण,देचे घर पूननिर्माण लगायतका काम गर्दैछौँ । २ नम्बर वडाको हकमा टुकुचाले सँधै दुःख दिइरहेको छ । यसपाली हामीले खोलामा रहेको जाली हटाएर ५० प्रतिशत जति डुवान समस्या हटायौँ ।
प्रदेशको तर्फबाट त्यहाँ एक करोड बजेट विनियोजन गरिएको छ । महानगरको तर्फबाट पनि बाँकी रकम आउनेछ । चार नम्बरमा शंखपार्क पूननिर्माण सुरु भइसकेको छ । करिब ३ करोड बजेटमा पार्क पूननिर्माण गरेर आधुनिक पार्क बनाउनेछौँ । कृष्णगल्ली चार नम्बर वडामा एउटा पार्कको काम अगाडि बढाइरहेका छौँ । धन्वन्तरीमा एउटा यूएनको सिमसार क्षेत्र संरक्षण भित्रको पार्क बनाउदैछौँ । महानगरभित्र एउटा पार्क बनाउन लागेका छौँ । उपत्यका विकास प्राधिकरण मार्फत रुद्रमती मार्गको खोलाको जमिनमा पार्कको काम अगाडि बढाईरहेका छौँ ।
खुल्ला क्षेत्रलाई संरक्षण गर्ने सोच छ । खहरे र टुकुचा नदि नियन्त्रणमा पनि काम गरिरहेका छौँ । सिंगो हाँडीगाउँ ऐतिहासिक सम्पदा क्षेत्र भएकाले त्यसको गुरुयोजना बनाउने काम शहरी विकास मन्त्रालय मार्फत भइरहेको छ । अरु काम जनतासँग सरसल्लाह गरेरै गर्छौँ ।
कलंकीदेखि नारायणगोपाल चोकसम्म चक्रपथको आठ लेन विस्तार गर्ने दोस्रो फेजको रुपमा चाईना सरकार र नेपाल सरकारले सम्झौता गरेर प्रकृया अघि बढिरहेको स्थिति रहेछ । हामीले त्यसलाई धोवीखोलासम्म लैजान सकिन्छ कि भनेर पहल गरिरहेका छौँ । धोवीखोलामा करिडोर बनिसकेकाले ट्र्याक रोड पनि बनिसकेकाले जामको समस्या कम हुन्छ भन्ने उद्धेश्यले दोस्रो फेजमै गराउने प्रयासमा छौँ ।

जनताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
निर्वाचित भएको करिब एक बर्ष हुन लाग्यो । निर्वाचित भइसकेपछि धन्यवाद दिन कतिपयको घरघरमा पुगियो । अनौपचारिक भेटघाटको कार्यक्रम समेत भइरहेकै छ । पछिल्लोपटक मेरो निर्वाचन क्षेत्रभित्र ‘जनतासँग जनप्रतिनिधि’ भन्ने कार्यक्रम महानगरको चारवटा वडाको आठ वटा टोलमा पुग्यौँ । दशैँ आएकाले त्यो काम बाँकी नै छ । जति साथीहरु उपस्थित हुनुभयो,एकदमै सकारात्मक प्रतिक्रिया आएको छ । वडा समितिले गरेको कामप्रति धेरै सकारात्मक कुरा आएको छ । स्थानीय समस्या,सडक,पानी,ढल,बिजुलीका विषय उठाउनासाथ छिटै समाधान भएको भन्ने कुरा आएको छ ।
आर्थिक बर्षको अन्त्यतिर भएपनि केन्द्र सरकारको तर्फबाट केहि काम भएको छ । मेरै प्रयासमा प्रतिनिधिसभाका माननीयज्यू,अर्थमन्त्रीको सपोर्टमा ६ करोडजति बजेट निकासा गरेका थियौँ । जसमध्ये साढे तीन करोडजतिको काम सम्पन्न ग¥यौँ । यसले उर्जा प्रदान गराएको छ । राष्ट्रियरुपमा एककिसिमको टिप्पणी बहस भईरहँदा यस्तो बेला जनताको बिचमा जाँदा गाली खाईएला भन्ने केहि साथीहरुले भनेपनि हामी जनस्तरमा गयौँ । केन्द्रियस्तरमा भएजस्तो टिक्काटिप्पणी जनस्तरमा त्यस्तो छैन ।

मेलम्ची खानेपानी आयोजनाको पाईप विस्तारको कामले काठमाडौं धुलाम्मे भयो । काम छिटो भएन,जनताले सास्ती पाए र नेताले गाली पाए । तपाईको निर्वाचन क्षेत्रमा यो आयोजनाको काम लगभग धेरै हुन बाँकी छ । गाली नपाउनेगरी कसरी काम गर्दै हुनुहुन्छ ?
तीनवटा वडामध्ये ५ नम्बर वडामा ८० प्रतिशत जति पाईप विस्तार भइसकेको छ । सडकको पिचको अवस्था भद्रगोल थियो । सम्बन्धित पक्षको पटक पटक ध्यानाकर्षण गराउदै केहि पिच गरायौँ । बाँकी पिच गराउन हामीले पहल गरिरहेका छौँ । ४ र २ नम्बर वडाको हकमा मेलम्चीको पहिलो फेजमा परेन । दोस्रो फेजको कार्यक्रम एडिबीको लोन् लिएर गर्ने भएकाले ०७६ को जेठ महिनामा टुंगो लगाउछौँ कि भन्दैछन् । ०७६ मंसिरसम्म दोस्रो फेजको टेण्डर प्रकृया टुंगो लगाएर ५÷६ महिनामा सक्छौँ भनिरहेका छन् ।
मेलम्ची आयोजनाका प्राविधिकहरुको भनाई अनुसार पहिलाको जस्तो जम्मै खाल्डो खन्नुनपर्ने, दुई ठाउँमा दुईवटा खाल्डो खनेर एक इन्चदेखि ६ इन्चसम्मको पाईप ड्रिलिङ गरेर भित्र पठाउने प्रविधि आएकोछ, हामी त्यो गर्छौँ भनेका छन् । त्यो गरियो भने पहिलो फेजको जस्तो धुलोधुँवाको समस्या कम भोग्नुपर्ला कि भन्ने अपेक्षा छ ।

तपाईको क्षेत्रका कतिपय भित्री सडकमा सडक बत्तिको अत्यन्तै आवश्यक्ता देखिन्छ, के गर्दै हुनुहुन्छ ?
पहिले लोडसेडिङको कारणले सोलारको मोडेलमा गइयो । महानगरले पनि लगानी ग¥यो । करोडौँ रुपैयाको सोलार प्रोजेक्ट अगाडि बढ्यो । तर जहाँ जे मन लाग्यो त्यहि गरेकाले समस्या आयो । तर एकबर्ष पनि चलेन । सोलार काम नलाग्ने देखिएपछि लोडसेडिङ अन्त्य भएको छ । ठूला प्रोजेक्ट सम्पन्न हुने चरणमा छ । महानगरले पनि ‘मेरो उज्यालो’ भन्ने कार्यक्रम ल्याएको छ । जसले वडामा दिएको पुँजीगत खर्चको १० प्रतिशत खर्चसम्म बत्तिमा खर्च गर्न पाउने प्रावधान छ । काम भइरहेको छ ।
प्रदेशको तर्फबाट ५० लाख रुपैया तीनवटा वडालाई विनियोजन गरेको छु । प्रकृयाको कारणले केहि ढिलो भएपनि यो बर्षभित्र कुनैपनि कुना बत्तिबिहिन हुदैन । ठूलो बाटोहरुमा भने सेन्सर वालाले आधुनिक बत्ति प्रयोग हुदैछ । त्यो हामी सक्छौँ ।

निर्वाचन क्षेत्रभित्र स्थानीय मतदातासँग विकासको कामबारे छलफल गर्दै सांसद सिलवाल । फोटो  – हरेकन्युज

 

तपाईको क्षेत्रमा सुकुम्बासी समस्या कत्तिको छ ?
अन्य क्षेत्रको जस्तो धेरै समस्या त छैन । सानोतिनो छ । हामी जनप्रतिनिधिले चाहदैमा पुरा हुदैन । समग्रमा महानगरले एउटा आयोग बनाएर वास्तविक सुकुम्बासीको पहिचान,सुकुम्बासीको नाममा कब्जा गरेर बसेकालाई विस्थापित गर्ने काम गर्नुपर्छ । घरबारबिहिन,वास्तविक सुकुम्बासीलाई निश्चित ठाउँमा पूर्नस्थापना गरेर रोजगारी समेत दिलाउने पहल गर्नुपर्छ ।
मेरो निर्वाचन क्षेत्रमा त्यतिधेरै समस्या छैन । एउटा गैरीगाउँ र टुकुचाको क्षेत्रमा भाटभटेनी छेउमा पनि छ । एउटा सांसदले व्यक्तिगतरुपमा समस्या समाधान हुन्न । तर समाधानको लागि पहलकदमी गरिरहेकै छौँ ।

हुन्छ,माननीयज्यू, दशैँको शुभकाना । जनताबाट गाली होइन,ताली पाउने काम गर्न सक्नुस्,शुभकामना ।
धन्यवाद यहाँहरुलाई । सबै नेपालीजन तथा मेरो निर्वाचन क्षेत्रका बुबाममी,दाजुभाई,दिदीबहिनी सबै महानुभावलाई दशैँ,तिहार,नेपालसम्वत,छठ लगायत आउदै गरेका सम्पूर्ण पर्वको शुभकामना । जनताकै घरदैलोमा हामी निरन्तर रहिरहनेछौँ । जनताकै सरसल्लाह अनुसार काम गर्ने प्रतिवद्धता जनाउछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super