बालसन्तको पैदलयात्रामा सुनसरी ६० औँ जिल्ला

इटहरी, २७ असोज

धार्मिक जागरणका माध्यमबाट मुलुकलाई जोड्नुपर्ने संदेशसहित पैदलयात्रामा निस्किएका नेपालका प्रथम जगतगुरु बालसन्त ५९औँ जिल्लाको यात्रा तय गरी विहिबार सुनसरी जिल्लाको दुहवीमा आइपुग्नुभएको छ ।

धार्मिक जागरणका लागि निस्किएका जगतगुरु बालसन्तले नेपालमा रहेका धार्मिक, पौराणिक र पुरातात्विक महत्व बोकेका नदी तथा तीर्थस्थललाई समेत विश्वमा चिनाउने उद्देश्य रहेकाले आफूले हिन्दू राज्य नेपालको पैदलयात्रा गरेको बताउनुभयो ।

उहाँले नेपालबाट वर्षेनी भक्तजन भारतका विभिन्न ठाउँमा तीर्थयात्रामा गएर खर्च गरिरहेको समयमा नेपालकै तीर्थस्थलमा जानेक्रम बढेसँगै नेपाली पैसा बाहिरिने क्रम रोक्न धार्मिक अभियान थालेको समेत स्पष्ट पार्नुभएको छ ।

महाकालीबाट २०७२ वैशाख ५ गतेदेखि पैदलयात्रामा निक्लनुभएका बालसन्त मोहनशरण देवाचार्यले पूर्वमा मोरङ जिल्लासम्मको यात्रा पूरा गरिसक्नुभएको छ ।

जगतगुरुले ६० औँ जिल्लाका रुपमा सुनसरीबाट पुनः पैदलयात्रा शुरु गर्नुभएको हो । जगतगुरु बालसन्त मोहनशरणले आफ्नो धार्मिक यात्राका क्रममा मोरङ जिल्लाको यात्रा पूरा गरी ६० औँ जिल्लाका रुपमा सुनसरी आइपुग्दा सुनसरी जिल्लाका धर्मप्रेमी भक्तजनले भव्यरुपमा स्वागत गरेका थिए ।

जगतगुरुबाट पुनः पैदलयात्रा शुरु गर्न लागेको अवसरमा विहिबार दुहवीमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रदेश नम्बर १ का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपतिप्रसाद उपाध्याय, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारलगायतले पैदलयात्राको सफलताको शुभकामना दिनुभएको थियो ।

पैदलयात्राका क्रममा महाकालीमा बनाइन लागिएको अष्टधातुको ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन तामा, पित्तलसहित सहयोग संकलन गर्ने कामसमेत गरिँदै आएको छ । नेपाल आमाको मूर्ति निर्माणका लागि आफूसंँग भएका तामा, पित्तल र रकमसमेत दिएर भक्तजनले सहयोग गरिरहेका छन् ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super